काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा २० जनाभन्दा बढीको निर्मम हत्या भई सयौंलाई गोली प्रहार गरिएपछि आक्रोशित बनेको जमातले दोश्रो दिन सोमबार प्रदर्शनलाई चर्काएको छ ।
सर्वसाधारण स्वस्फूर्त रुपमा काठमाण्डौका मुख्य ठाउँहरुमा कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
यो क्रममा दोश्रो दिनको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेता तथा सरकारमा सहभागी मन्त्रीहरुको घर तथा आवास क्षेत्रलाई टार्गेट गरिरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासअघि प्रदर्शन भइरहेको छ । खुमलटारस्थित प्रचण्ड निवासमा ढुंगामूडा भएको छ ।
बुढानिलकण्ठस्थित देउवाचोकमा रहेको देउवा निवासमा समेत तोडफोड र आगजनीको प्रयासपछि थप सुरक्षाकर्मी खटाइएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा प्रदर्शनका लागि गएकाहरुले आगजनी गरेका छन् । सुरक्षाकर्मी तथा वारुणयन्त्रले अहिले आगो निभाउने काम गरिरहेको छ ।
प्रदर्शनकारीहरुले काठमाण्डौ, भक्तपुर, ललितपुरका विभिन्न क्षेत्रका प्रहरी बिटमा आगजनी गरेका छन् ।
कफ्र्यू आदेश तोडेर उनीहरुले प्रदर्शनलाई तीव्र बनाएका छन् ।