काठमाण्डौ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री के। पि। शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओली र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको सूचित गरिएको छ ।