काठमाण्डौ । अघिल्लो दिनको सर्किट ब्रेकबाट बढेको पोर्टफोलियोबाट प्रफिट बुक गर्नेहरुको हतारो र चुनावअघि किन्ने अवसर गुमाएकाहरुको आक्रामक खरिदारीका कारण लामो समयपछि सेयर बजारमा २१ अर्ब बढीको कारोबार भएको छ । यो भनेको सात महिनायताकै उच्च कारोबार हो ।
सोमबार १६२ अंकले बढेको बजारमा प्रफिट बुक गर्नेहरुका कारण केही सप्लाई देखिए पनि नेप्से परिसूचक ३२ अंकले मात्र घट्नुलाई बजार विश्लेषकहरुले सकारात्मक भनेका छन् ।
हिजो त्यति धेरै अंकले बढेको बजार भोलिपल्ट(मंगलबार) ३२ अंकले घट्नुलाई सामान्य र सकारात्मक मान्नुपर्छ । स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले बिजशालासँग भने ः नेप्सेको इतिहास हेर्ने हो भने जुन दिन सर्किट ब्रेक लागेर बजार बन्द भएको छ, त्यसको भोलिपल्ट बजारमा सानोतिनो करेक्सन आएकै छ । यस्तै, करेक्सन आएको बजार त्यसको भोलिपल्टदेखि फेरि लयमा फर्किएकै छ ।
उनको यो विश्लेषणअनुसार बजार भोलिबाट फेरि पूर्ण लयमा फर्किनेछ ।
रानाभाट लामो समयसम्म साइडवेजमा अल्झिएको बजार बढ्नलाई आवश्यक सबै आधार तयार भएको र ऐतिहासिक ढंगले सकारात्मक वातावरण बनेको भन्दै अब बजार नबढी सुखै नहुने दाबी गर्छन् । 'अब पनि नबढे कहिले बढ्छ त बजार ?' उनले बिजशालासँग भने-'इतिहासमै कहिले नभएको प्रचण्ड बहुमतसहितको सरकार बन्दैछ । ५ वर्षसम्म ढुक्कले चल्ने सरकार बन्नु अर्थतन्त्र र बजारका लागि बलियो पक्ष हो । मलाई लाग्छ अहिलेको अवस्था सेयर बजारका लगानी गर्न चाहनेका लागि इतिहासकै स्वर्णिम समय हो । यस्तो चान्स धेरै कम आउँछ।'
उनको भनाईमा यदि भोलिदेखि बजारले आजकै लेभलको भोल्युम बनायो भने नेप्से अझ परिपक्व भएर अगाडि बढ्नेछ ।
बजार बढ्दै जाँदा सरकार गठनसँगै जोडिने सानातिना राजनीतिक फण्डाहरु झिक्दै साधारण लगानीकर्ताहरुलाई अत्याउने गतिविधि हुनसक्ने भन्दै उनले अब त्यस्ता विषयले खासै फरक नपार्ने र सचेत भएर लगानी गर्नुपर्ने समय आएको समेत सुझाए ।
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले आज बजार घट्नुको मुख्य कारण ब्रोकरहरुले आफ्नो हिसाब मिलाउन खोज्दा सप्लाई दिनु रहेको दाबी गरे । साथै हिजो अप्रत्याशित बजार बढ्दा धेरैले नाफा पनि बुक गरेका र यसले पनि बजारलाई दबाब परेको बताए । 'भोल्युम हेर्ने हो भने बजारमा साढे २१ अर्ब रुपैयाँमाथिको सेयर कारोबार छ, यस हिसाबमा लगानीकर्ताहरुले सेयर खरिद गरेको पनि देखिन्छ ।' उनले बिजशालासँग भने-'बजारमा अहिले ट्रेडर हाबी भएका कारण थोरै प्रतिशतको पनि नाफा बुक गर्छन् र सप्लाई बढी देखिने हुँदा बजारले दिगो बन्न सकिरहेको छैन । अब रास्वपाको स्थिर सरकार बन्ने देखिएको छ र रास्वपाले स्पष्ट रुपमा यसरी काम गर्छौं भनिरहेको छ, स्थिर सरकारले आफ्नो मार्गदर्शन अनुसार नै काम गर्ने हो भने देशको अर्थतन्त्रमा सुधार आई पुँजीबजार समेत दिगो हुने सम्भावना छ । आजको कारोबार रकमले बजार पोजेटिभ नै रहेको बुझ्न सकिन्छ ।’
त्यस्तै, बजार जानकार अजय सिं थापा(जय शम्भु)को भनाईमा बजारको अवस्था हेर्दा अहिलेको ट्रेन्ड त्यति बलियो देखिदैन । बजारको सेन्टिमेन्ट सकारात्मक नभएकाले बजार अहिले नै माथि गइहाल्ने आँकलन गर्न गाह्रो छ । 'अहिले स्थिर सरकार बन्ने कुराले लगानीकर्ताको मनोबल बढेपनि अन्तर्राष्ट्रिय रुपमा जसरी युद्धले देशहरुका अर्थतन्त्रमा प्रभाव पारिरहेको छ, यस्तो अवस्थाले पूँजीबजारको गतिशिलतालाई पनि अवश्य प्रभाव पार्ने देखिन्छ ।' उनले भने-'युद्धका कारण कच्चा तेलको मूल्य वृद्धि र देशको रेमिट्यान्समा प्रभाव पर्ने सम्भावनाले नेपालको पूँजीबजारलाई असर पार्ने देखिन्छ ।'
के-के भयो बजारमा ?
मंगलबार सेयर बजारमा साढे २१ अर्ब बढीको सेयर किनबेच भयो । कुल ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ वटा कारोबारबाट खरीदबिक्री भए ।
कारोबारमा आएका कम्पनीमध्ये १७८ को मूल्य घट्यो भने ७८ कम्पनीको मूल्य बढ्यो । ५ कम्पनीको मूल्य स्थिर बन्यो ।
यो दिन ङादी ग्रुप पावर लिमीटेडले मात्रै १ अर्ब ९ करोड बढीको कारोबार गर्यो ।
आँखु खोला जलविद्युत कम्पनीले ६९ करोड बढीको सेयर कारोबार गर्यो भने अपी पावरको ६१ करोड बढी, रिडी पावरको ६० करोड हाराहारी र शिवम सिमेन्टको ४८ करोड बढीको सेयर किनबेच भयो ।
यो दिन रिलायन्स स्पिनिंग र साल्पा विकास बैंकको सेयरमा अपर सर्किट लाग्यो भने थ्री स्टार हाइड्रोको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।
यो दिन हिमस्टार उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घट्यो ।

