काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ ।
गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो ।
सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०८ प्रतिशतले घटेको छ ।

