काठमाण्डौ । नेपालमा डिजिटल मनोरञ्जनको विस्तारसँगै ओटीटी प्लेटफर्महरू दर्शकका लागि प्रमुख रोजाइ बन्न थालेका छन्।
यही परिवर्तित परिदृश्यबीच डिशहोम डिजिटलअन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपाल सरकारबाट औपचारिक प्रसारण इजाजतपत्र प्राप्त गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ।
सूचना तथा प्रसारण विभागबाट प्राप्त इजाजतपत्रले डिगोलाई कानूनी मान्यता मात्र प्रदान गरेको छैन, यसले नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउने दिशामा समेत महत्वपूर्ण आधार तयार गरेको छ।
पछिल्ला वर्षहरूमा मोबाइल र इन्टरनेटको पहुँच विस्तार भएसँगै दर्शकको सामग्री हेर्ने बानीमा ठूलो परिवर्तन आएको छ।
अहिले धेरै दर्शक टेलिभिजनभन्दा ओटीटी प्लेटफर्ममार्फत आफूले चाहेको समयमा सामग्री हेर्न रुचाउँछन्।
डिगोले चलचित्र, वेब सिरिज, खेलकुद, टेलिभिजन कार्यक्रम, वृत्तचित्र, बाल–मनोरञ्जन तथा प्रत्यक्ष प्रसारणजस्ता विविध सामग्री उपलब्ध गराउँदै आएको छ।
सरकारी इजाजत प्राप्तिपछि अब प्लेटफर्मले नेपाली सामग्रीको उत्पादन, वितरण र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसै अवसरमा डिगोले नयाँ डिजिटल रिलिजको घोषणा पनि गरेको छ। निर्देशक निमेश श्रेष्ठ निर्देशित लाइफ ड्यामेज अब डिगो एपमार्फत दर्शकले हेर्न सक्ने भएका छन्।
हल प्रदर्शनका क्रममा युवापुस्तामाझ चर्चित बनेको यो चलचित्रले अब डिजिटल माध्यमबाट नयाँ दर्शकवर्ग भेट्ने अवसर पाएको छ।
आधुनिक समाज, सम्बन्ध, मित्रता र बदलिँदो लैंगिक भूमिकाको कथालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले प्रदर्शनका बेला सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
ओटीटीमा उपलब्ध भएसँगै विदेशमा रहेका नेपाली दर्शकले पनि सहज रूपमा चलचित्र हेर्न सक्ने भएका छन्।
नेपालमा यो चलचित्र हेर्न १९९ रुपैयाँ शुल्क तोकिएको छ भने अन्तर्राष्ट्रिय दर्शकका लागि २.९९ अमेरिकी डलर मूल्य निर्धारण गरिएको छ।
निर्देशक निमेश श्रेष्ठका अनुसार हल प्रदर्शनपछि पनि दर्शकको माग निरन्तर रहेकाले चलचित्रलाई डिजिटल प्लेटफर्ममा ल्याइएको हो।
उनका अनुसार आजको समयमा चलचित्रको सफलताको मापन केवल बक्स अफिसले मात्र गर्दैन, डिजिटल पहुँच र दर्शकको दीर्घकालीन संलग्नताले पनि निर्धारण गर्छ।
चलचित्रमा सुरक्ष्या पन्त र निमेश श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्।
साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ आर्याल, अनिश जंग थापा, अजय पन्त, सबिन बास्तोला र निरु खड्का को पनि अभिनय रहेको छ।
डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावले नेपाली चलचित्र उद्योगको वितरण प्रणालीमा समेत परिवर्तन ल्याइरहेको छ।
अब चलचित्रको यात्रा सिनेमा हलमा मात्र सीमित नहुने भएको छ। ्
दर्शक जहाँ छन्, बजार त्यहीँ छ भन्ने अवधारणालाई ओटीटी प्लेटफर्महरूले थप बलियो बनाइरहेका छन्।
डिगोको इजाजतपत्र प्राप्ति र नयाँ सामग्री रणनीतिले नेपाली डिजिटल मनोरञ्जन उद्योगलाई नयाँ उचाइतर्फ लैजाने अपेक्षा गरिएको छ।


