काठमाण्डौ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए) का महानिर्देशक राफेइल ग्रोस्सीले इरानको आणविक कार्यक्रमलाई प्रभावकारी रूपमा अनुगमन गर्न अत्यन्त बलियो सत्यापन प्रणाली आवश्यक रहेको बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानलाई कुनै पनि प्रकारको आणविक हतियार विकास गर्न नदिनु मुख्य उद्देश्य रहेको बताउँदै निरीक्षकहरूलाई पूर्ण पहुँच दिनुपर्नेमा जोड दिए।
ग्रोसीले इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको भए पनि केवल दाबीले मात्र पर्याप्त नहुने बताए । उनले भने, ‘हामीले उद्देश्य होइन, वास्तविकता जाँच्नुपर्छ। त्यसका लागि हामीलाई सबै स्थानमा निरीक्षण गर्ने अधिकार हुनुपर्छ।’
इरान र पश्चिमा देशहरूबीच निरीक्षण सम्बन्धी विषयमा गहिरो मतभेद देखिएको छ। अमेरिका र उसका सहयोगीहरूले इरानको आणविक कार्यक्रम हतियार विकासतर्फ जान सक्ने जोखिम रहेको बताउँदै आएका छन्।
इरानले भने आफ्ना सबै आणविक गतिविधि पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गरेको छ। हालै भएको प्रारम्भिक युद्धविराम सम्झौतापछि पनि निरीक्षणको दायरा र पहुँचबारे स्पष्ट सहमति हुन सकेको छैन।
हालैको अमेरिकी–इरान समझदारीपछि आईएईए निरीक्षकहरू पुनः इरानी आणविक साइटहरूमा जाने तयारी भइरहेको जनाइएको छ। तर, इरानले युद्धमा आक्रमण भएका संवेदनशील स्थलहरूमा पहुँच दिने विषयलाई अन्तिम सम्झौतासँग जोड्नुपर्ने अडान लिएको छ।
रिपोर्टअनुसार इरानसँग रहेको उच्च संवर्धित युरेनियमको भण्डार र केही आणविक साइटहरूमा पूर्ण पहुँच नहुँदा यसको वास्तविक अवस्था स्पष्ट हुन सकेको छैन।

