काडमाण्डौ । इरानले पर्सियन खाडी र हर्मुज जलडमरूको सुरक्षामा अमेरिकी नेतृत्व स्वीकार्य नहुने स्पष्ट पारेको छ। इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले हर्मुज जलडमरूको सुरक्षा व्यवस्था क्षेत्रीय मुलुकहरूले नै सुनिश्चित गर्नुपर्ने बताएका हुन्।
बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम० को पहलमा भएको क्षेत्रीय सुरक्षा संवादप्रति प्रतिक्रिया दिँदै उनले ‘हर्मुज सेन्टकम होइन, इरानको सुरक्षा अवधारणाअन्तर्गत पर्छ’ भनेका छन्। उनका अनुसार बहराइनमा आयोजित सैन्य बैठकले पर्सियन खाडीको कानुनी व्यवस्था वा सुरक्षा संरचना निर्धारण गर्न सक्दैन।
गरिबाबादीले दीर्घकालीन क्षेत्रीय स्थायित्व विदेशी सैन्य उपस्थितिबाट सम्भव नहुने बताए। उनले अमेरिकी हस्तक्षेप अन्त्य, क्षेत्रबाट अमेरिकी सेना फिर्ता, सम्बन्धित मुलुकहरूको सार्वभौमिकताको सम्मान र बदलिँदो भूराजनीतिक यथार्थको स्वीकार आवश्यक रहेको धारणा राखेका छन्।
सेन्टकमका अनुसार बहराइनमा भएको संवादमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, यूएई र यमनका वरिष्ठ सैन्य अधिकारी सहभागी थिए। बैठकमा हर्मुज हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजको निर्बाध आवागमन, क्षेत्रीय सुरक्षा सहकार्य र रक्षा समन्वयबारे छलफल भएको थियो।
हर्मुज जलडमरू विश्व ऊर्जा आपूर्तिका लागि अति संवेदनशील मार्ग मानिन्छ। पछिल्ला दिनमा अमेरिका–इरानबीच यसै जलमार्गको सुरक्षा र व्यापारिक जहाजको आवागमनलाई लिएर तनाव तथा वार्ता दुवै समानान्तर रूपमा अघि बढिरहेका छन्।

