काठमाण्डौ । नेपाली कांग्रेसले विस्थापित सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा खर्च गर्ने गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
कांग्रेसले बिपी स्मृति दिवसका अवसरमा साउन ६ गते आयोजना गर्न लागेको ‘ग्रीन रन’ कार्यक्रममा सहभागी हुने व्यक्तिको संख्याका आधारमा पार्टीको कोषबाट निश्चित रकम छुट्याइने शर्माले जानकारी दिए।
‘ग्रीन रनमा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट जम्मा गरी मानवीय सहयोग कोष स्थापना गरिनेछ,’ शर्माले भने, ‘कोषको रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध आमाबुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ।’
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम हुँदैछ।
त्यसैगरी साउन ७ गते पार्टीले नवीन अभियान घोषणा गर्ने कार्यक्रमसमेत तय गरेको कांग्रेसले जनाएको छ।

