काठमाण्डौ ।प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइएको भारत सरकारले सार्वजनिक रूपमै पुष्टि गरेको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकिएको जानकारी दिएका हुन्।
पत्रकारले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे सोधेको प्रश्नमा जयसवालले निमन्त्रणा दिइसकिएको बताए। यद्यपि, भ्रमणको मिति, कार्यतालिका तथा छलफलका एजेन्डाबारे उनले थप विवरण सार्वजनिक गरेनन्।
भारतले भ्रमणको निम्तो दिएको विषय भने नयाँ होइन। गत चैतमै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई पठाएको बधाई सन्देशसँगै भारत भ्रमणको निमन्त्रणा पनि दिएको बताएका थिए। त्यसबेला भ्रमणको मिति र विस्तृत कार्यक्रम दुवै देशका परराष्ट्र मन्त्रालयबीचको परामर्शपछि तय हुने जानकारी दिइएको थियो।
प्रधानमन्त्री शाहले निमन्त्रणा स्वीकार गरिसकेको र भ्रमणलाई औपचारिकतामा सीमित नराखी ठोस उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको विवरणसमेत यसअघि सार्वजनिक भएका थिए। तर भ्रमणको निश्चित मिति अहिलेसम्म औपचारिक रूपमा घोषणा भएको छैन।
यसरी हेर्दा मंगलबारको अभिव्यक्ति नयाँ निमन्त्रणाको ‘खुलासा’भन्दा पनि भारत सरकारले यसअघि पठाएको निम्तोलाई आफ्नो नियमित प्रेस ब्रिफिङबाट औपचारिक रूपमा पुनःपुष्टि गरेको घटनाका रूपमा देखिएको छ। अब भ्रमण कहिले हुन्छ र नेपालले त्यसबाट व्यापार, लगानी, ऊर्जा, पारवहन तथा सीमा व्यवस्थापनजस्ता विषयमा के उपलब्धि हासिल गर्छ भन्ने चासो बढेको छ।

