काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताएका छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग आयोजित विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
यस्तै उनले पूँजीबजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्न रोडम्याप तय गर्ने बताएका छन् ।
‘हामीले अनावश्यक र पुराना कानुनहरू खारेज गर्ने, लगानीको वातावरण सुधार्ने, कर प्रणालीलाई सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने सहजता बढाउने, पूँजीबजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट रोडम्याप तय गरेका छौँ।’ उनले भने ।
अर्थमनत्री वाग्लेले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेका बताए। ‘श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने स्पष्ट रोडम्याप तय गरेका छौँ। यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा छन्’ उनले भने । उनले नेपाललाई समृद्ध र आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृति विकास गर्नुपर्ने बताए ।
‘यो भेटघाट केवल औपचारिक कार्यक्रम होइन, सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको सुरुवात गर्ने अवसर हो,’ उनले भने। उनले विगतमा समस्या देखाउने र एक–अर्कालाई दोष दिने प्रवृत्ति रहेको उल्लेख गर्दै अब समाधानमुखी सहकार्य आवश्यक रहेको बताए।
अर्थमन्त्रीले बजेट निर्माणका क्रममा उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी र निजी क्षेत्रका विभिन्न संस्थासँग निरन्तर छलफल गरिएको बताए।
उनका अनुसार निजी क्षेत्रबाट प्राप्त सुझावका आधारमा सरकारले लगानी वातावरण सुधार, कर प्रणाली सरलीकरण, व्यवसाय गर्न सहज वातावरण निर्माण, पूँजी बजार विस्तार, श्रम बजार व्यवस्थापन र डिजिटल प्रशासन प्रवर्द्धनजस्ता सुधारका कार्यक्रम अघि बढाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाहरूले बजेटको स्वागत गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे। उनले अब नेपालको साझा आर्थिक एजेन्डा लगानी, लगानी र केवल लगानी हुनुपर्ने बताए।
अर्थमन्त्रीले सरकारको ध्यान तीनवटा मुख्य परिणाम हासिल गर्न केन्द्रित रहेको बताए।
१. उद्योगको पूर्ण क्षमता उपयोगः
सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो उत्पादन क्षमताको अधिकतम उपयोग गर्न सक्ने वातावरण निर्माण गर्ने।
२. व्यवसाय विस्तारमा सहजताः
हाल सञ्चालनमा रहेका उद्योगी–व्यवसायीले आत्मविश्वासका साथ व्यवसाय विस्तार र विविधीकरण गर्न सक्ने अवस्था सिर्जना गर्ने।
३. नयाँ उद्यमको विकासः
युवा उद्यमी र नयाँ लगानीकर्तालाई उद्योग तथा व्यवसाय सुरु गर्न विश्वासिलो वातावरण उपलब्ध गराउने।
यी लक्ष्य हासिल भएमा आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्रीको भनाइ छ। अर्थमन्त्रीले सरकार आफैंले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई सहज रूपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाउने जिम्मेवारीमा रहेको स्पष्ट पारे।
उनले उद्योगी–व्यवसायीसँग उत्पादन लागत, उद्योगको क्षमता उपयोग, लगानीमा देखिएको हिचकिचाहट, प्रशासनिक समस्या, जग्गा प्राप्ति, ऊर्जा, श्रम, ढुवानी, वित्त र कच्चा पदार्थसँग सम्बन्धित समस्याबारे स्पष्ट सुझाव मागे।
‘हामी समस्याको समाधान प्रतिवेदनमा होइन, व्यवहार र परिणाममा खोज्न चाहन्छौँ,’ उनले भने। निजी क्षेत्रले उठाएका जायज विषयलाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ विशेष संयन्त्र स्थापना गरिने उनले बताए।
उनका अनुसार अब निर्णय प्रक्रिया ढिलो हुने र फाइल थन्किने अवस्थाको अन्त्य गर्दै छिटो निर्णय र समाधानमुखी कार्यसंस्कृति विकास गरिनेछ।
सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधार कार्यक्रम, कानुनी संशोधन, नियमावली तथा संस्थागत सुधारलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
अर्थमन्त्रीले नेपाललाई आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट उत्पादन, निर्यात र आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजान उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसर पुनःस्थापित गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
‘निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहनेछ। त्यसले उचित प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो, वाग्लेले भने।
उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको उल्लेख गर्दै लगानी बढाउन, उत्पादन विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आह्वान गरे। अर्थमन्त्रीले अन्त्यमा भने, ‘हाम्रो साझा लक्ष्य उत्पादन, लगानी र उद्यमशीलतामार्फत स्वाभिमानी र समृद्ध नेपालको निर्माण गर्नु हो।’

