काठमाण्डौ । मकरी गाड हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओको निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको महाराजगंजमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजे आयोजना हुनेछ । सभामा कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र यसमा कम्पनी रजिष्टर्डको कार्यालयबाट संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सर्वसाधारणमा सेयर जारी भएपश्चात प्राप्त हुने पूँजीको उपयोग गर्ने र नियमनका्री निकायबाट कुनै संशोधन गर्न प्रस्ताव पारित भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१०० अंकित दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम रु.५९ करोड ४० लाखबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त समेत गरिसकेको छ ।
मकरी गाड हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्र्धित दार्चुला जिल्ला अपि हिमाल गाउँपालिकाको वडा नं। ५ स्थित मकरी खोलाको पानीको बहाव सदुपयोग गरी १० मेवा क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ ।