काठमाण्डौ । नेपाल सरकारले एक महिनामा एक अर्ब बढी राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्याँक अनुसार जेठ महिनामा पूँजीबजारबाट सरकारले १ अर्व १७ करोड ७८ लाख रुपैंया राजश्व उठाएको हो ।
अघिल्लो महिना अर्थात वैशाखमा पनि सरकारले पूँजी बजारबाट १ अर्ब २३ करोड रुपैयाँबराबरको राजश्व उठाएको थियो । सरकारले पूँजी बजारबाट यस आर्थिक वर्षमा सबैभन्दा धेरै साउन महिनामा राजश्व संकलन गरेको छ । सो महिनामा सरकारले पूँजीबजारबाट ४ अर्ब २३ करोड राजश्व उठाएको थियो ।
त्यो बेला पूँजी बजार एकै महिनामा एक हजार अंकले बढेको थियो । सरकारले पूँजीबजारबाट अघिल्ला महिना जस्तै गत महिना पनि अल्पकालिन लगानीकर्ताहरुबाट नै धेरै कर उठाएको छ । गत महिना अल्पकालिन लगानीकर्ताहरुले ७२ करोड ८२ लाख कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३४ करोड १५ लाख , संस्थागत लगानीकर्ताहरुले १० करोड ६५ लाख र स्टक डिलरहरुले १ करोड ७८ लाखबराबर राजश्व तिरेका छन् ।
धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समयावधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत,दीर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।