काठमाण्डौं । बजार ३ हजारबाट घटेपछि पछिल्लो समय लगानीकर्ता दैनिकजसो नेप्से धाउन थालेका छन् ।
लगानीकर्ताको भनाईअनुसार यसरी बजार दैनिक घट्नु पछाडिको एउटा प्रमुख कारण नेपाल स्टक एक्सचेञ्जले करिब ५ महिना अगाडि ल्याएको अन्तिम १५ मिनेटमा भारित औषत गणना गर्ने नियम पनि हो ।
नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई कार्यान्वयन गर्दै चैत्र ७ गतेदेखि यो नियम लागू गरेको थियो ।
यो नियमअनुसार २ः४५ पछिको १५ मिनेटको कारोबारलाई औषत कारोबार प्रणालीमा गणना गर्ने गरिन्छ । यसरी अन्तिम १५ मिनेटको कारोबारलाई औषतमा गणना गर्ने नियमले घट्दो बजारमा झनै नकारात्मक प्रभाव पारेको लगानीकर्ताहरुले तर्क गर्न थालेका छन् । अझ रोचक त पाँच महिनाअघि यो नियमको पक्षमा ज्यान दिएर वकालत गर्ने लगानीकर्ताहरु पनि अहिले यो गलत रहेको भन्न थालेका छन् ।
पाँच महिनाको अवधिमा बदलिएको लगानीकर्ताको विश्लेषण र चञ्चले मन देख्दा लाग्छ, कुनै पनि विषयमा पर्याप्त ज्ञान, अध्ययनबिना नै उनीहरु विश्लेषण गर्न हतारिन्छन् । बजारमा निश्चित व्यक्ति र समूहले बजारमा पहिला माहौल सिर्जना गर्ने र लगानीकर्ताहरुलाई प्रयोग गरेर आफूअनुकुल निर्णय गराउन नियामकलाई बाध्य पार्ने प्रयास गरेको देखिन्छ । १५ मिनेटवाला नियम पनि यस्तै स्वार्थ समूहको प्रयासबाट कार्यान्वयनमा आएको थियो । तर, यसको रिजल्ट सोंचेजस्तो नआएपछि पहिलो समर्थन गर्नेहरु नै विरोधमा उत्रिएका छन् ।
नेपालको पूँजीबजारका नियामकहरु पनि कुनै पनि व्यवस्थाको अल्पकालीन र दीर्घकालीन प्रभावको विषयमा पर्याप्त अध्ययन नै नगरी दवाब र प्रभावको भरमा नयाँ नयाँ नियम ल्याउन तल्लिन रहेका यो घटनाक्रमले देखाउँछ ।
के भन्छन् अगुवा लगानीकर्ता ?
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बढ्दो बजारमा त यसले खासै केही प्रभाव पर्ने थिएन । अन्तिम समयमा बजारमा चलखेल भयो भनेर नै यो नियम लगानीकर्ताहरुले नै माग गरेका थिए । छिमेकी मुलुकमा पनि यस्तो नियम छ । हामीले बजारमा चलखेल हुने ५÷७ वटा कम्पनीहरुमा मात्रै यस्तो नियम लगाउन भनेका थियौं । यसले समग्र सेयर बजारलाई नै असर गर्यो । यहीकारण अहिले आएर सोचबिचार गर्नुपर्ने देखियो।’
रौनियार तिनै व्यक्तिमध्येका एक हुन्, जसले सेयर बजारमा चलखेल भएको भन्दै ५ महिनाअघि चाहिँ १५ मिनेटमा भारित औसत गणनाको नियम कार्यान्वयन भएकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले त्यसबेला भनेका थिए–‘यो त धेरै राम्रो कुरा भयो, हामीले धेरै पहिलेदेखि मागेको माग सम्बोधन भएको छ। कारोबारको अन्तिम समयमा गएर अत्यधिक बढाउने र घटाउने गरेर बजारमा चलखेल भइरहेको थियो, त्यो रोकिने भयो।’
उनले यो नियम कार्यान्वयन हुँदै गर्दा औसत गरेर मूल्य निर्धारण गर्नाले बजारलाई फाइदा पुग्ने समेत दाबी गरेका थिए । ‘यसले बजारलाई धेरै राम्रो गर्छ’, रौनियारले त्यसबेला भनेका थिए, ‘यसले बजारलाई लामो समयसम्म फाइदा पुराउँछ । एभ्रेजिङ गर्ने कुरा विश्वभरको शेयर बजारमा छ। विश्वमा भएका त्यस्ता खालको असल अभ्यासहरू नेपालमा भित्राउँदा बजारलाई राम्रै गर्छ ।’

तर, ५ महिनापछि लगानीकर्ताहरुले दैनिकजसो यो नियम परिवर्तनका लागि प्रयास गरिरहेको समयमा भने रौनियारको भाषा केही फेरिएजस्तो देखिन्छ । शुक्रबार बिजशालासँग कुरा गर्दै उनले भने–‘ब्रोकरहरुले पनि यसले बजारलाई प्रभाव पारेको बताइरहेका छन् । मार्जिन कारोबार नल्याई यो नियम लगाउनु हतार गरियो । पछि अध्ययन गर्ने गरी अहिलेलाई यो नियम हटाउँदा नै उपयुक्त हुन्छ ।’
नेपाल सेयरधनी संघका सदस्य सूरोज खड्काले पनि नेप्समा नै उपस्थित भएर भने, ‘यो नियम लगानीकर्ताहरुले नै माग गरेर ल्याएको हो । जुत्ताले खुट्टा खाएपछि जुत्ता फेर्नुपर्छ । यो नियमले पनि लगानीकर्ताहरुलाई सास्ती दिएपछि पुनर्विचार हुन आवश्यक छ ।’
नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौंलागाइले यो १५ मिनेटको नियम यसअघि आम लगानीकर्ताहरुसँग छलफल र सल्लाह नै नगरी केही मुठ्ठीभरका लगानीकर्ताको उक्साहटमा ल्याइएको आरोप लगाए । ‘यसलाई एमकेटिको अप्सनको बिकल्पमा ल्याइयो । यसमा नेप्सेसँग गणना गर्नका लागि प्राविधिक औजार नै छैन । सर्टसेल, मार्केट अप्सन जस्ता औजार नल्याई नेप्सेले १५ मिनेटको नियम ल्यायो, यहीँनेर समस्या भयो । यो नियम हचुवाको भरमा आयो, अहिले दुःख पाइयो ।’ उनले भने ।
उनले कुन समूहको कति वेटेज रहेको छ भन्ने राम्रोसँग निक्र्यौल नै नगरी यो नियम ल्याइएको आरोप पनि लगाए ।
यस्ता नियमको बिषयमा खासगरी लगानीकर्ताहरुले समय–समयमा आफ्ना माग र अडानहरु भने फेर्ने गरेको पाइन्छ । यसअघि पनि लगानीकर्ताहरुले शुक्रबार सेयर कारोबार गर्न माग गरेका थिए । लगानीकर्ताहरुको मागअनुुसार नेप्सेले केही समय शुक्रबार पनि सेयर कारोबार गर्यो तर पछि बजार घट्न थालेपछि लगानीकर्ताहरुको मागअनुसार नै पुनः शुक्रबारको कारोबार स्थगन गर्नुपरेको थियो ।
के गर्ला नियामक ?
पछिल्लो समय दैनिकजसो बजारबाट लगानीकर्ताहरु १५ मिनेटको बिषयलाई लिएर नेप्से घेर्न पुगेपछि सीइओ चूडामणि चापागाइँ रनभुल्लमा छन् । खासगरि यो नियम उनी आउनु भन्दा पहिले नै कार्यान्वयनमा आइसकेको थियो ।
नेप्सेमा पुगेका लगानीकर्ताहरुलाई सीइओ चापागाइले सिस्टममा कुनै पनि त्रुटि नभएको र त्यस्तो भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताइरहेका छन् । चापागाइले एकदिन सबै सरोकारवालाहरुलाई बोलाएर अन्तिम १५ मिनेटको बिषयमा हलमा नै लाइभ हेरेर निरीक्षण गर्ने प्रतिबद्धता पनि लगानीकर्ताहरुसँग गर्ने गरेका छन् ।
लगानीकर्ता भने यो बिषयलाई लिएर यसअघि नै धितोपत्र बोर्ड पुगिसकेका छन् भने आँउदो आइतबार पनि जाने तयारीमा छन् । यो बिषय नेप्सेमा मात्रै सीमित नरहेर धितोपत्र बोर्ड नै अधिकारसम्पन्न रहेको छ । तर पुरानै व्यवस्थामा फर्किनलाई नेप्सेले टिप्पणी भने उठाएर पठाउनुपर्ने हुन्छ ।
हाल धितोपत्र बोर्डमा सबै बोर्ड सदस्य नरहेका कारण लामो समयदेखि बोर्ड बैठक पनि बस्न सकेको छैन । प्रमुख नियामकले यो व्यवस्था हटाउन चाहेमा पनि बोर्ड बैठक बसेर कारोबार सञ्चालन विनियामवली २०७५ लाई संसोधन गर्नुपर्ने हुन्छ । जसका लागि केही समय भने लाग्न सक्ने देखिन्छ ।