काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले भदौ २३ गते भएको जेनजी समूहको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआईले एक विज्ञप्ती जारी गर्दै निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गर्ने जनाएको छ ।
साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति हो ।
नेपालको उत्पादन तथा सेवा मुलक उद्योगहरूको प्रतिनिधिमुलक संस्था परिसंघ संयमता अपनाउन सबै सरोकारवालाहरूलाई अपिल समेत गर्दछ,’विज्ञप्तीमा भनिएको छ, ‘साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गर्दछ ।’
नेपालको समृद्धिको मार्गमा द्वन्द भन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट रहेको उल्लेख गरेको छ । परिसंघले लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट पारेको छ ।