काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न व्यक्तिहरुको घरमा भेटिएका नगदको विषयमा छानबिन सुरु भइसकेको औपचारिक जानकारी गराएकी छिन् ।
प्रधानमन्त्री भएपछि राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएका कतिपय व्यक्तिको घरमाट नगद भेटिएको विषयमा सरकारले छानबिन सुरु गरिसकेको जानकारी गराएकी हुन् ।
सरकारले यसअघि नै सम्पत्ति शुद्धिकरण विभाग लगायतका सम्बन्धित निकायलाई परिचालन गरी ठूलो परिमाणमा रकम भेटिएका नेताहरुको घरमै गएर अनुसन्धान थालिसकेको छ । यही विषय प्रधानमन्त्रीले औपचारिक रुपमा देशबासीलाई जानकारी गराएकी हुन् ।
जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन मन्त्री दीपक खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको घरमा ठूलो परिमाणमा रकम भण्डारण गरेर राखिएको अवस्थामा भेटिएको थियो । सर्वसाधारणहरुले धेरै ठूलो परिमाणको रकम जलेर टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको भन्दै नेताहरुले भ्रष्टाचार गरी कालोधन त्यसरी घरमै थुपारेर राखेका भेटिएको दाबी गरेका थिए ।
यस्तै, उनले राष्ट्रका कर्मचारीहरुलाई रुपान्तरणसहित उच्च मनोबलका साथमा काम गर्न समेत आग्रह गरेकी छिन् । मनोबल कमजोर नबनाई तोकिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्न उनको सुझाव छ ।
साथै, चाडपर्वको बेला खाद्य आपूर्तिलाई सहज बनाइएको र नागरिकहरुको सुरक्षा प्रबन्ध समेत राम्रोसँग मिलाइएको जानकारी गराउँदै ढुक्क भएर चाँडपर्व मनाउन समेत उनले आग्रह गरेकी छिन् ।