काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत कायम थियो । यो संस्था साविकको कालिका लघुवित्त र जनसेवी लघुवित्त एक आपसमा गाभिएर बनेको हो ।
संस्थाको गत असोज १० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत विन्दुले हुने संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको थियो । संस्थाको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भईसकेको छ ।
साथै, संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउनु पर्नेछ । सूचनाको म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्नेतर्फ प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।

