काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। सरकार गठनपछि पहिलो पटक आयोजना गरिएको उक्त भेटवार्ता बुधबार मध्याह्न सिंहदरबारमा सम्पन्न भएको हो।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी कार्यदिशाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकको उद्देश्य नयाँ सरकारको नीति, कार्यक्रम तथा प्राथमिकताबारे कूटनीतिक नियोगहरूलाई अवगत गराउनु रहेको थियो। छलफलका क्रममा सहभागी राजदूतहरूले सरकारको कार्ययोजना र विकास प्राथमिकताबारे चासो व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले सुशासन प्रवर्द्धन, तीव्र आर्थिक विकास र सन्तुलित तथा सुदृढ वैदेशिक सम्बन्ध कायम गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।

