काठमाण्डौ । काठमाण्डौको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा मंगलबार बिहान भएको कार आगलागीमा नियतबस आगो लगाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आगलागीपछि कारको चालक सीटमा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत फेला परेका थिए।
प्रहरीका अनुसार श्रेष्ठले आफैँले गाडी चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली स्थानमा पार्किङ गरी गाडीभित्र पेट्रोल छर्केर आगो लगाएका थिए। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो।
श्रेष्ठ काठमाण्डौको नरदेवीका स्थायी बासिन्दा थिए भने कीर्तिपुरको ग्रीन उड भिल्लामा बस्दै आएका थिए। पारिवारिक स्रोतका अनुसार मेडिकल व्यवसायमा घाटा भएपछि उनी ऋणमा परेका थिए र पछिल्लो समय मानसिक तनावमा थिए।
कोभिड संक्रमणकालमा उनले विदेशबाट अत्यावश्यक स्वास्थ्य सामग्री आयात गरेका थिए। तर बजारबाट रकम उठ्न नसकेपछि आर्थिक समस्या बढेको परिवारका सदस्यले प्रहरीलाई बताएका छन्।
सीसीटीभी फुटेजअनुसार एक प्रत्यक्षदर्शीले आगो लागेको कारको ढोका खोल्ने प्रयास गरेका थिए। तर उनको हातमा आगो लागेपछि उनी पछि हटेका थिए। ढोका खुले पनि श्रेष्ठ चालक सीटबाट बाहिर ननिस्किएको प्रहरीको भनाइ छ।
प्रहरीले आगो नियन्त्रणमा लिएपछि श्रेष्ठलाई चालक सीटमै मृत अवस्थामा फेला पारेको थियो। उक्त कार २०६२ सालमा खरिद गरिएको र मृतक श्रेष्ठ तथा रजनी श्रेष्ठको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालयको अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ।

