काठमाण्डौ । पछिल्लो समय धितोपत्र बजार आईजिन अर्थात ‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेन नम्बर’को विषयले तात्तिएको छ । धितोपत्र बोर्ड , नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ बिषय पनि आएका छन् । पियोर इनर्जी कम्पनीको सेयर सूचिकरणको विषयमा आइजिनको बिषयले प्रबेश गरेपछि यो विषय विवादमा आएको छ ।
खासगरि सीडीएससीले बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा नै आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थाले पछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यो नम्बर भनेको देशको नामसहित नम्बर दिइएको हुन्छ । जसलाई बोलिचालीमा आईजिन भन्ने गरिन्छ ।
यसरी एउटै आईजिन पाएपछि जलविद्युत तथा बाँकी रहेका अन्य समूहका संस्थापकहरुले लक इन अगाडि नै सेयर बेच्ने गरेको विषय पछिल्लो पटकको आईजिन विवादले खुल्न पुगेको छ । केही समय पहिले एक इन्स्योरेन्स कम्पनीको २० करोड भन्दा बढीको सेयर संस्थापकले लक इन खुल्नु भन्दा पहिले नै बेचेको रहस्य पनि खुलेको थियो ।
धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाबाहेक कम्पनीहरुको लागि तीन वर्षको लक इन अवधि राखेको छ । सेयर बजारमा लक इन अवधिमा सेयरको मूल्य उच्च मात्रमा बढ्ने गर्छ । यहि मौका छोपेर संस्थापकहरुले एउटै आइजिको फाइदा उठाँउदै सेयर बेच्ने गरेको तथ्य खुल्न पुगेको छ । पियोर इनर्जीका सञ्चालकले २ वटा आईजिन राख्न नमान्नुको कारण यहि रहेको हुन सक्ने सीडीएसीस्थित एक उच्च स्रोतले दाबी गर्यो ।
अहिले आएर आईजिनको विषयमा विवाद आउनुमा अरु कुनै कारण नरहेको पनि स्रोतलको दाबी रहेको छ । यो विषय धितोपत्र बोर्डदेखि अर्थमन्त्रालयसम्म पुगि सकेको छ । यस विषयमा धितोपत्र बोर्डले नियमानुसार गर्न भनेको छ । तर अर्थ मन्त्रालयले भने अहिले बजेट निमार्णको क्रममा रहेको भन्दै तर्किरहेको पनि स्रोतको दाबी छ ।
बजारका अगुवा लगानीकर्ता केशव कोइरला फेसबुक पेजमार्फत भन्छन् ‘कतिपय कम्पनीका प्रमोटरहरुले एउटै नम्बरमा हेराफेरि गरेर लकिङ नखुल्दै सेयर बेचेर भाग्ने गरेका छन् । पन्दाकले राम्रो काम गर्न लागेकी छन,यसको खुलेर समर्थन गर्नु पर्छ ।’
कोइराला एक कम्पनीका स्वतन्त्र सञ्चालक हुन । सर्पको खुट्टा सर्पले नै देख्छ भने जस्तै उनको भनाईमा दम रहेको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुको मत रहेको छ । तर सीडीएसीकी प्रमुख कार्यकारी अधिकृत प्रबिणा पन्दकले भने आफूले नियमानुसार नै गर्ने बताउँदै आएकी छन् ।