काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौको सितापाइलामा रहेको संस्थाको सम्पर्क कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ ।
सेयरको न्यूनतम मूल्य बिक्रीपिच्छे फरक रहेको छ । न्यूनतम मूल्य प्रतिकित्ता ३२०,३४०,३२५ र ३२० निर्धारण गरिएको छ ।
निर्धारित समयभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।