काठमाण्डौ । नेपाल एसबिआई बैंकले ७ जुलाईमा बैंकको ३२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए ।
साथै, उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे । प्रमुख वित्तिय अधिकृत, राजेशकुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाण्डौको कमलादीस्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै,फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।