काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेल यसपालिको दसैं मनाउन गाउँ पुगिसकेका छन् । स्थायी घर अर्घाखाँची जिल्लामा यसपालि दसैं उल्लासमय तरिकाले मनाइरहेका छन् ।
फुल्लेल आस्तिक हुन्, त्यसकारण दसैंभर उनको समय पूजाआजामै बढी व्यतित हुने गर्छ । गाउँघरमा चाडपर्व मनाउँदाको आनन्द नै बेग्लै हुने उनी सुनाउँछन् ।
दसैंको बेला गाउँघरमा आफन्त र साथीभाईबीच भेटघाटको मौका जुर्ने हुँदा त्यो अझ रमाइलो हुने उनको अनुभव छ ।
शहरभन्दा गाउँको दसैंको माहौल निकै रमाइलो हुने उनी ठान्छन् । उनको गाउँमा हरेक दसैंमा हतियार र बाजागाजा, झण्डासहित स्वोराय नाच हुने गर्छ । जसमा भगवान भित्राउने पनि चलन रहेको छ ।
मांशाहारी फूल्लेलको दसैं अवधिमा मासुका विभिन्न परिकारप्रति पनि उत्तिकै ध्यान जान्छ । गाउँमा वर्षभरि नभएको चहलपहल हुने भएकोले यो पर्व उनलाई सधैं विशेष लाग्दछ ।
फुल्लेल देशमा परिवर्तनसहित अर्थतन्त्र बुझेका व्यक्ति नयाँ अर्थमन्त्रीको रुपमा आएका कारण सेयर बजारका राम्रा दिन धेरै टाढा नभएको ठान्छन् ।
उता, काठमाण्डौमा नै बिन्दास तरिकाले दसैं मनाइरहेका छन् नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे । यसपल्टको दसैंमा मनोरञ्जनसँगै सेयर बजारसँग सम्बन्धित नयाँ पुस्तकहरु पनि पढिरहेको उनले सुनाए । उनले काठमाण्डौका केही राम्रा ठाउँहरुको समेत भ्रमण गरिरहेका छन् । पाण्डेले भर्खरै पूँजीबजार सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयन हुने र सेयर बजारका राम्रा दिनहरु आउने अपेक्षा गरे ।