काठमाण्डौ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालभित्र चिकित्सकमाथि भएको कुटपिट, तोडफोड तथा घटनापछि स्थानीय प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेको चिकित्सकहरूले बताएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र उनीहरू पनि सामूहिक राजीनामाको तयारीमा रहेको जनाइएको छ।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत बन्द भएको छ। यससँगै अस्पतालको उपचार सेवा लगभग पूर्ण रूपमा ठप्प बनेको छ।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ता र सेवा सञ्चालनप्रति सकारात्मक बनेका थिए।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने आश्वासनपछि चिकित्सकको टोली वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेको थियो। तर वार्ताकै क्रममा प्रशासनिक अधिकारीबाट दुर्व्यवहार भएको चिकित्सकहरूको आरोप छ।
चिकित्सकका अनुसार दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने कुरा उठेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आक्रोशित बनेका थिए।
त्यसपछि चिकित्सकहरूलाई अपशब्द प्रयोग गरिएको, प्रहरीले घेरा हालेको, मोबाइल खोसेको र करिब एक घण्टा नियन्त्रणमा राखिएको उनीहरूको आरोप छ।
“हामी वार्ताबाट बाहिर निस्कँदै गर्दा प्रहरी परिचालन गरेर घेरा हालियो। मोबाइल खोसियो र फेरि कार्यालयभित्र लगेर नियन्त्रणमा राखियो,” डा. सिंहले भने, “हामीमाथि अपराधीजस्तो व्यवहार गरिएपछि यस्तो वातावरणमा काम गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका हौँ।”
प्रशासनको व्यवहारपछि अस्पतालका सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उनले बताए।
“सबै चिकित्सकले राजीनामा दिएपछि आकस्मिक सेवा सञ्चालन गर्ने जनशक्ति नै रहँदैन,” उनले भने, “अहिले अस्पतालको सेवा लगभग ठप्प छ।”
चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान राखेका छन्।
अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुने र घटनाको समाधानका लागि बोलाइएको वार्तामै प्रशासनबाट धम्कीपूर्ण व्यवहार हुने अवस्थाले सुरक्षित रूपमा सेवा दिन नसकिने उनीहरूको भनाइ छ।
देशभर आकस्मिकबाहेकका सेवा बन्द
नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र स्थानीय प्रशासनको व्यवहारविरुद्ध मंगलबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र घटनामा संलग्न जिम्मेवार पक्षमाथि छानबिन गर्न माग गरेको छ।
संघले माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको थियो। त्यस क्रममा अन्य स्वास्थ्यकर्मीमाथि पनि आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड गरिएको चिकित्सकहरूको भनाइ छ।
घाइते डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा बन्द गरेका छन्।
देशकै प्रमुख सरकारी अस्पतालमध्ये एक नारायणी अस्पतालको आकस्मिक सेवासमेत बन्द भएपछि बिरामीहरू उपचार सेवाबाट वञ्चित हुने जोखिम बढेको छ। घटनाले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने सरकारी प्रतिबद्धता र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्नसमेत उठाएको छ।

