मंगलवार, श्रावण १२,२०८३ 11:56:30
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:56:30
Bizshala
Global IME Bank Limited

सुनसरीको गोलीकाण्डले सिरहा ततायो, प्रधानमन्त्रीको राजीनामा माग्दै

गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही र निष्पक्ष छानबिनको माग, आधा घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

सुनसरीको गोलीकाण्डले सिरहा ततायो, प्रधानमन्त्रीको राजीनामा माग्दै
New Office

 

काठमाण्डौ । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोध सिरहासम्म फैलिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गर्दै मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामासमेत मागेका छन्।

सुनसरीमा राज्य पक्षबाट युवाको हत्या भएको आरोप लगाउँदै प्रदर्शनकारीले गोली चलाउने सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने र घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका थिए।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा करिब आधा घण्टा सवारी आवागमन प्रभावित भएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार प्रदर्शनकारीसँगको छलफलपछि अवरुद्ध राजमार्ग खुलाइएको छ।

यसअघि सोमबार पनि सिरहाका विभिन्न स्थानमा सुनसरी घटनाविरुद्ध प्रदर्शन भएको थियो। कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो भने गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोकमा समेत विरोध प्रदर्शन भएको थियो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा बोलबम यात्राका क्रममा बजाइएको ठूलो आवाजको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवादले हिंसात्मक रूप लिएपछि स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए।

घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन चर्किएको छ। सरकारले घटनाको छानबिनका लागि समिति गठन गर्नुका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ अधिकारी खटाएको छ।

सुनसरीमा सुरु भएको विरोध प्रदर्शन अन्य जिल्लामा समेत फैलिन थालेपछि घटनाले सरकारमाथि राजनीतिक तथा प्रशासनिक दबाब बढाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.