मंगलवार, श्रावण १२,२०८३ 12:28:55
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:28:55
Bizshala
Global IME Bank Limited

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही, आजै बहुमतको दाबी पेस गर्ने तयारी

साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्ने, नेकपा–एमाले गठबन्धनको समर्थनमा सरकारको नेतृत्व लिँदै

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मङ्गलबहादुर शाही, आजै बहुमतको दाबी पेस गर्ने तयारी
New Office

 

 

काठमाण्डौ । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलका नेता मङ्गलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

नेकपा र नेकपा एमालेबीच बनेको नयाँ सत्ता समीकरणअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले पाउने सहमति भएको छ। नेकपा संसदीय दलका नेता शाहीले एमालेको समर्थनसहित प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेस गर्ने तयारी गरेका हुन्।

सरकार गठनका विषयमा शीर्ष नेतृत्वसँग छलफल गर्न आइतबार काठमाडौं पुगेका शाही मंगलबार बिहान सुर्खेत फर्किएका छन्। उनी फर्किएलगत्तै आफ्नो दलका प्रदेशसभा सदस्यसँग छलफलमा जुटेका छन्।

निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता यामलाल कँडेल पनि काठमाडौंमा पार्टी नेतृत्वसँग छलफल गरी सोमबार सुर्खेत फर्किएका थिए। नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र सत्ता सहकार्यका विषयमा नेकपा र एमालेका प्रदेशस्तरीय नेताबीच औपचारिक छलफल हुने तयारी छ।

शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने विषयमा प्रदेश प्रमुखको कार्यालयलाई भने समाचार तयार पार्दासम्म औपचारिक जानकारी गराइएको थिएन।

प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने अन्तिम दिन भए पनि दाबी पेस गर्ने समयबारे औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन्।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख जोशीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

मुगुबाट निर्वाचित शाही गत माघमा नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन भएका थिए। तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकतापछि बनेको नेकपाले उनलाई संसदीय दलको नेतृत्व सुम्पिएको थियो।

निर्धारित समयभित्र बहुमतको दाबी पेस गरी प्रदेश प्रमुखबाट नियुक्त भए शाही कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.