काठमाण्डौ । प्राथमिक सेयर निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको नौ महिनामै २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
अस्पतालले उक्त अवधिमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो। बिरामीको संख्या, ओपीडी तथा आईपीडी सेवाको माग र सञ्चालन क्षमतामा आएको सुधारले अस्पतालको आम्दानी बढेको देखिएको छ।
नर्भिकले सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। यसअघि सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको थियो।
सन् २०२५ मा अस्पतालको कारोबार करिब ११ प्रतिशतले बढेको थियो। अस्पतालका अनुसार ओपीडी र आईपीडी दुवै सेवामा बिरामीको संख्या बढ्दा आम्दानीमा सकारात्मक प्रभाव परेको हो।
सन् २०२१ मा अस्पतालको ओपीडी सेवा लिने बिरामीको संख्या ९४ हजार २३० रहेकोमा सन् २०२५ मा बढेर १ लाख ६० हजार ३५१ पुगेको छ। अस्पतालले वार्षिक औसत १४ प्रतिशतका दरले स्वास्थ्य सेवा लिने बिरामीको संख्या बढेको जनाएको छ।
सन् २०२५ मा ८ हजार ५०० जनाले आईपीडी सेवा लिएका थिए। गत आर्थिक वर्षको नौ महिनामा ओपीडी सेवा लिनेको संख्या ८.९ प्रतिशतले बढेर १ लाख २७ हजार ४७३ पुगेको छ। सोही अवधिमा आईपीडी सेवा लिनेको संख्या पनि ४.६ प्रतिशतले बढेर ६ हजार ५९४ पुगेको छ।
सञ्चालन मार्जिन र नगद आर्जनमा सुधार
अस्पतालले सन् २०२५ मा २७ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ। सन् २०२२ मा यस्तो मार्जिन १९ प्रतिशत थियो।
सञ्चालन कार्यसम्पादन र नाफामा आएको सुधारसँगै अस्पतालको आन्तरिक नगद आर्जन पनि बढेको छ। सन् २०२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको नगद आर्जन सन् २०२५ मा ७७ प्रतिशतले बढेर ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
गत आर्थिक वर्षको नौ महिनामा अस्पतालको नगद सञ्चिति थप बढेर ४७ करोड १० लाख रुपैयाँ पुगेको छ।
अस्पतालले क्षमता विस्तारका लागि ऋण बढाए पनि नाफा सञ्चिति, नयाँ इक्विटी लगानी र तुलनात्मक रूपमा न्यून ब्याजदरका कारण पूँजी संरचनामा सुधार आएको जनाएको छ।
सन् २०२५ मा अस्पतालमा १९ करोड ४४ लाख रुपैयाँ थप इक्विटी लगानी भएको थियो। यसले कम्पनीको नेटवर्थ थप बलियो बनाएको अस्पतालको भनाइ छ।
ऋण अनुपातमा सुधार, १३ करोड समयअघि नै भुक्तानी
अस्पतालको समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२५ गुणा थियो। गत आर्थिक वर्षको नौ महिनामा उक्त अनुपात सुधार भएर १.१७ गुणामा झरेको छ।
सो अवधिमा अस्पतालले १३ करोड १० लाख रुपैयाँ ऋण निर्धारित समयअघि नै भुक्तानी गरेको छ।
अस्पतालको ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा सुधार भएको छ। सन् २०२४ मा ५.३९ गुणा रहेको ब्याज भुक्तानी क्षमता सन् २०२५ मा बढेर १०.९० गुणा पुगेको छ।
क्षमता विस्तारको लागत २० करोडले बढ्यो
नर्भिक अस्पतालले हालको ११६ शय्या क्षमतालाई विस्तार गरी २७५ शय्या पुर्याउने योजना अघि बढाइरहेको छ।
अस्पतालले सुरुमा क्षमता विस्तार परियोजनाका लागि ३ अर्ब १२ करोड २० लाख रुपैयाँ लागत अनुमान गरेको थियो। तर, संशोधित लागत बढेर ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ।
यसअनुसार परियोजनाको लागत प्रारम्भिक अनुमानभन्दा २० करोड रुपैयाँले बढेको छ।
हालसम्म परियोजनामा प्रतिबद्ध कुल लगानीमध्ये करिब ५८ प्रतिशत खर्च भइसकेको छ। अस्पतालका अनुसार क्षमता विस्तारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
विस्तारित क्षमताबाट सन् २०२७ देखि व्यावसायिक कारोबार सुरु गर्ने अस्पतालको लक्ष्य छ। क्षमता विस्तारका लागि १ अर्ब ८७ करोड रुपैयाँ कर्जाको व्यवस्था भइसकेको छ।
अस्पतालको कुल नगद सञ्चिति सन् २०२४ मा ३० करोड ३० लाख रुपैयाँ रहेकोमा सन् २०२५ मा बढेर ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो। नगद तथा बैंक मौज्दात पनि १२ करोड रुपैयाँबाट बढेर १६ करोड ५० लाख रुपैयाँ पुगेको छ।
२ अर्ब ७९ करोडको कर्जा रेटिङ
सन् १९९३ मा स्थापना भएको नर्भिक अस्पताल सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो। अस्पतालले हाल ११६ शय्याबाट बहुविशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ।
चौधरी ग्रुपअन्तर्गत सञ्चालित अस्पतालमा बीएलसी होल्डिङ प्रालिको ३४ प्रतिशत र वसन्तकुमार चौधरी अध्यक्ष रहेको बीएलसी ग्लोबल होल्डिङको ४९ प्रतिशत स्वामित्व छ। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन्।
अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ५ करोड ८ लाख रुपैयाँ अल्पकालीन कर्जासँग सम्बन्धित छ।

