काठमाण्डौ । अन्तरिम सरकारका मन्त्रीहरुको सल्लाहमै जेनजी अभियानले दवाब सिर्जना गर्ने उद्देश्यले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अभियान सामाजिक सञ्जालमा चलाएका खुलेको छ ।
केही दिनअघि अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सहभागिताबिना सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका विभिन्न समूहहरुलाई बोलाएर छलफल गरेका थिए । सो छलफलमा जेनजी अभियन्ताहरु निकै आक्रामक ढंगले प्रस्तुत भई भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा २१ जनाभन्दा बढी कलिला विद्यार्थी तथा युवाको गोली हानी हत्या गर्ने तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र गोली हान्न आदेश दिने गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने अडान लिएका थिए । ओली र लेखकलाई पहिला पक्राउ गरेर हिरासतमा राखी थप छानबिन थाल्ने गरी सरकारले काम गर्नुपर्ने मागमा उनीहरुले लामो समयसम्म अड्डी कसेका थिए ।
जेनजी आन्दोलन तथा अभियानको प्रमुख माग ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने विषयमा सरकार तत्पर नदेखिएको भन्दै सुदन गुरुङ लगायतले अर्को आन्दोलनको चेतावनी दिएका थिए ।
जेनजी अभियन्ताहरुको अडान र चेतावनी सुनेपछि सरकारका मन्त्रीहरुले तत्काल पक्राउ गरिहाल्ने कानूनी अड्चन तथा अप्ठ्यारोको विषयमा सुझाएका थिए ।
त्यही बैठकमा मन्त्रीहरुले जेनजी अभियन्ताहरुलाई सामाजिक सञ्जाल र अनलाइन प्ल्याटफर्महरुमा ओली र लेखकलाई पक्राउ गर्न सरकारलाई सहज हुने गरी वातावरण बनाउन र त्यसका लागि विशेष दबाब अभियान सुरु गर्न सुझाएका थिए । 'तपाईहरु दवाब अभियान सुरु गर्नुस् । कम्तीमा भोलि हामीलाई त्यसकै आधारमा उनीहरुलाई पक्राउ गर्न सहज होस् ।' मन्त्रीहरुले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो -'त्यही दिनको बैठकमा बनेको योजनाअनुसार सुदन गुरुङ नेतृत्वको समूहले केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने दवाबका लागि अभियान सुरु गरेका हुन् ।'
जेनजीहरुले विभिन्न सामाजिक सञ्जालहरुमा 'अरेस्ट केपी शर्मा ओली/रमेश लेखक, मर्डरर्स' अभियान थालेका छन् ।
यस्तै, केहीले एरेस्ट केपी ओली भन्ने अलग्गै अभियान पनि सुरु गरेका छन् ।
यो अभियानलाई प्रभावकारी बनाउने र यसले सरकारलाई समेत जनदवाब सिर्जना हुने जेनजी अभियन्ताहरुको विश्लेषण छ । सरकारले सुझाएको आईडियाअनुसार ओली र लेखकलाई पक्राउ गर्ने आधार तय गर्ने गरी सुरु भएको अभियानमा साथ दिन जेनजी अभियन्ताहरुले नागरिकहरुलाई अपील समेत गरेका छन् ।
एक अभियन्ताले भनेका छन् -'आजदेखि अभियान तीव्र भएको छ । यसले एउटा माहौल सिर्जना गर्छ । त्यसपछि सरकारले ओली र लेखकलाई पक्राउ गर्ने हाम्रो बुझाई हो । यी सबै काम हुन अब धेरै दिन लाग्दैन । हत्याराहरुलाई जेनजीको बलिदानको जगमा बनेको सरकारले त्यसै छाड्नुहुँदैन ।'