काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा हाईड्रो कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
सुपर मादी हाईड्रोले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि १६ औं वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै माउन्टेन इनर्जी नेपालले पनि गत आवका लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंसिर २९ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।

