काठमाण्डौ । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध मागिएको पक्राउ पुर्जी जिल्ला अदालत काठमाडौंले जारी गर्न अस्वीकार गरेको छ। प्रहरीको अनुरोधमा अदालत पुगेको मुद्दा हालका लागि अघि नबढ्दै रोकिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बस्नेतलाई पक्राउ गर्न अनुमति माग्दै अदालतमा निवेदन दिएको थियो। तर, अदालतले सो निवेदन स्वीकार नगरी फाइल फर्काइदिएको छ।
यसअघि शोभा पाठकले आइतबार पुनः जाहेरी दर्ता गराउँदै बस्नेतमाथि जबरजस्ती करणी र भ्रूण हत्या जस्ता गम्भीर आरोप लगाएकी थिइन्। तर, उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन नचलाउने निर्णय गरिसकेको छ।
हाल सो निर्णय सदर गर्ने वा नगर्ने विषय उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ। यही कारण देखाउँदै अदालतले मुद्दाको टुंगो लाग्नुअघि पक्राउ पुर्जी जारी गर्न उपयुक्त नदेखेको जनाएको छ।
प्रहरीका अनुसार अब उच्च सरकारी वकिलको निर्णयपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

