काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ। तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५२.३५प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । अघिल्लो आवमा १८ करोड ४ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर १४ करोड १२ लाखमा सीमित बनेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी ३७.८० प्रतिशतले बढेर१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि ३७ करोड ४१ लाखबाट बढेर ६३ करोड १६ लाख पुगेको छ ।
संस्थाको रिटेन्ड अर्निङ ३६ करोड १६ लाख र रिजर्भको आकार १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाको रिजर्भको आकार १ अर्ब २१ करोड रुपैयाँमा सीमित थियो । संस्थाको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९ अर्ब ६० करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कर्जा प्रवाह पनि २३ अर्ब १६ करोड रुपैयाँबाट बढेर २५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ ।
संस्थाको इम्पेयरमेन्ट चार्ज २५ करोड ९० लाख रुपैयाँले रिभर्सल भएको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.५१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१६.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.१७ गुणा र तरलता अनुपात ४.४७ प्रतिशत कायम भएको छ ।