काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडको भीडभाडलाई नाफा कमाउने अवसर नबनाउन यातायात व्यवसायीलाई कडा चेतावनी दिएका छन्।
उनले स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
हालै यात्रुबाट निरन्तर गुनासा आइरहेका छन्- चाडपर्वमा सामान्य यात्रालाई नै मौकापारेर धेरै महँगो टिकट बेचेको, स्वीकृत भन्दा बढी भाडा असुलेको र कालोबजारी गरेको। यस्ता गतिविधिलाई रोक्न मन्त्री घिसिङले यात्रुलाई समेत सक्रिय भूमिका खेल्न आग्रह गर्दै भने, “भाडा बढी असुल्ने वा टिकटमा कालोबजारी गर्ने भेटिए तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई खबर गर्नुस्।”
उनको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला सबै पक्ष जिम्मेवार बन्नु आवश्यक छ। यातायात व्यवसायीले चाडबाडलाई यात्रुलाई दुःख दिने र गैरकानुनी कमाइ गर्ने अवसर नठानून।”
मन्त्री घिसिङले यात्रुलाई सहज, सुरक्षित र उचित मूल्यमा यातायात सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको समेत जनाएका छन्।